बागलुङ – देशभरमै सबैभन्दा धेरै डेंगी संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण, फैलिरहेको डेंगीको भेरियन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ।
स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्लो दुई दिनदेखि नमुना संकलनसहित भेक्टर सर्वेक्षण गरिरहेको छ।
टोलीले डेंगी संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारकको तुलना गर्न केस–कन्ट्रोल अध्ययनसमेत गर्दै छ। धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेंगीको भेरियन्ट पहिचान गर्ने काम भइरहेको छ।
हालसम्म बागलुङ नगरपालिका–१, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणमा ७७ घरधुरीमध्ये ३६ घरमा डेंगी सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ। यो कुल घरधुरीको करिब ४७ प्रतिशत हो।
बागलुङमा हालसम्म एक हजार ५८९ जना संक्रमित भएका छन्। यो तथ्यांक सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो। निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ।
तस्बिरहरू:

