समाचार

मानवीय गतिविधिको असर डाँफेमा: साँघुरिँदै बासस्थान, बद्लिँदै सञ्चार

हिमचुली
हिमचुली
Shares
मानवीय गतिविधिको असर डाँफेमा: साँघुरिँदै बासस्थान, बद्लिँदै सञ्चार

काठमाडौँ- मानवीय गतिविधिको असर हिमाली चरा डाँफेमा परेको एक अध्ययनले देखाएको छ। 

भारतको उत्तराखण्डमा गरिएको अध्ययनले मानवीय गतिविधिले डाँफे प्रभावित बन्दै गएको देखाएको हो। बिबिसीका अनुसार मानवीय गतिविधिका कारण डाँफेको जीवनशैली र सञ्चार प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको अध्ययनले देखाएको छ।

अध्ययनले पूर्वाधार विकास र पर्यटनका कारण डाँफेको प्राकृतिक बासस्थान साँघुरिँदै गएको देखाएकाे छ। बढ्दो होहल्लाले सम्भावित जोडी र प्रतिस्पर्धीहरूसँग सञ्चार गर्ने यसको तरिका पनि परिवर्तन भएको छ।

उत्तराखण्डका अनुसन्धानकर्ताहरूले पाँच वर्षको अवधिमा दुईवटा छुट्टाछुट्टै अध्ययन गरेका थिए।

उत्तराखण्डको केदारनाथ कस्तूरी मृग अभ्यारण्यका दुई उपत्यका सवारी साधन र पर्यटकको बाक्लो चहलपहल हुने पर्यटकीय स्थल चोपता र धेरै हदसम्म शान्त मदमहेश्वरमा यो अध्ययन गरिएको थियो।

अप्रिल २०२३ देखि एक वर्षसम्म अनुसन्धानकर्ताले माइक्रोफोन र निष्क्रिय रेकर्डिङ उपकरणहरू प्रयोग गरी दुवै ठाउँमा डाँफेका ७०० भन्दा बढी आवाज रेकर्ड गरे र आवाजको तिखोपना (पिच), लम्बाइ र पृष्ठभूमि होहल्लाको स्तर मापन गरे।

कोलाहलपूर्ण वातावरणमा रहेका चराहरूले शान्त बासस्थानमा रहेका चराहरूको तुलनामा निरन्तर रूपमा धेरै उच्च पिक फ्रिक्वेन्सी (उच्च तिखोपना) भएका आवाजहरू निकालेको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले डाँफेको आवाजको पिचमा सूक्ष्म परिवर्तनहरू पाए। जुन रेकर्डिङ उपकरणहरूले समात्न सक्थे तर मानिसको कानले ख्याल नगर्न पनि सक्थ्यो।

मदमहेश्वर उपत्यकाका चराहरूको तुलनामा चोपताका डाँफेले छोटो समयका आवाजहरू पनि निकाले। जुन सम्भवतः ट्राफिक र पर्यटकको आवतजावतबाट आउने कम फ्रिक्वेन्सीको मानवीय होहल्लालाई छिचोल्नका लागि भएको अनुमान गरिएको छ।

यस्तै अर्को अध्ययनले रुख रेखा (ट्री लाइन) भन्दा माथिका उच्च हिमाली पाटनहरूमा मानव उपस्थिति बाक्लिँदै जाँदा यी चराहरू पहाडको अझ उच्च भागतिर सर्न बाध्य भएका छन्। 

अध्ययनले सन् २१०० सम्ममा हिमालय क्षेत्रभर हिमाली डाँफेको बासस्थान निरन्तर साँघुरिने र अस्थिर बन्दै जाने देखाएको छ। हाल यी चराहरू वनभन्दा माथि पहाडको उच्च भागमा रहेका हिमाली पाटनहरूमा पाइन्छन्। जुन हिमालयका केही अति महत्त्वपूर्ण मौसमी चरण क्षेत्र र जैविक विविधतायुक्त बासस्थान हुन्।

"हिउँ पग्लिँदै जाँदा र वनस्पतिहरू उम्रिँदै जाँदा यी चराहरू अहिले हिमालयमा बिस्तारै माथितिर सरिरहेका छन्। जसले गर्दा ती क्षेत्रहरू उनीहरूका लागि पहुँचयोग्य बनेका छन्। जे भए पनि, उच्च हिमाली पाटनहरूमा रहेका उनीहरूका प्राकृतिक बासस्थानहरूमा मानिसहरूले अतिक्रमण गरेपछि उनीहरू माथितिर धकेलिएका हुन्," अध्ययनका मुख्य अनुसन्धानकर्ता डा. राजीव लोचनले बिबिसीलाई भनेका छन्।

डाँफे नेपालको राष्ट्रिय चरा पनि हो। भारतमा गरिएको अनुसन्धानले जे देखाएको छ, विश्वकै सर्वोच्च शिखर रहेको देश नेपालको हिमाली पक्षीहरूको अवस्थाबारे पनि सोच्नुपर्ने अवस्था आएको छ।


भिडिओ

हिमचुली

हिमचुली सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Himchuli Media Pvt. Ltd. Kathmandu, Nepal
9742454878
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ००
प्रेस काउन्सिल दर्ता नं.: ००

हाम्रो टिम

प्रधान सम्पादक प्रधान
सम्पादक सम्पादक

उपयोगी लिंकहरु

© 2026 Himchuli. सर्वाधिकार सुरक्षित।
Developed by Yubraj Pandeya