समाचार

नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको छः गुटेरेस

हिमचुली
हिमचुली
Shares
नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको छः गुटेरेस

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताए।

यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लनेक्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उनले बताए। महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिएका थिए।

उनले नेपालको भोटेकोशी बाढीजस्ता विपद्ले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट गरे। ‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ’, उनले भने, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ।’

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको स्पष्ट गर्दै विश्वव्यापी कार्वन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाइरहेको उल्लेख गरे। उनले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले क्षतिपूर्तिस्वरुप न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने धारणा व्यक्त गरे।

‘जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन। विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु’, गुटेरेसले भने, ‘जलवायु अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गर्न र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्दछु।’


भिडिओ

हिमचुली

हिमचुली सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Himchuli Media Pvt. Ltd. Kathmandu, Nepal
9742454878
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ००
प्रेस काउन्सिल दर्ता नं.: ००

हाम्रो टिम

प्रधान सम्पादक प्रधान
सम्पादक सम्पादक

उपयोगी लिंकहरु

© 2026 Himchuli. सर्वाधिकार सुरक्षित।
Developed by Yubraj Pandeya