काठमाडौँ – डेढ महिनाको बीचमा आएको तीन ठूला प्राकृतिक विपद्ले नदी सभ्यतामा आधारित बस्ती छियाछिया बनाएको छ।
बागमतीदेखि लुम्बिनीसम्म ठूला नदी सभ्यतामा आधारित बस्ती डेढ महिनाको बीचमा छियाछिया बन्दा नदी सभ्यतामा आधारित बस्तीको अस्तित्वमाथि नै प्रश्न उठेको छ। भोटेकोशी, त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, नारायणीलगायत नदी सभ्यतामा रहेका बस्तीहरूले मात्र बितेको डेढ महिनामा अकल्पनीय क्षति व्यहोरे।
भदौ १० गते आएको अकस्मातको भोटेकोशी-त्रिशूली बाढीले गरेको क्षतिबाट उठ्न त्यति सहज छैन। एकाबिहानै आएको बाढीले सुतिरहेका, यात्रा गरिरहेका, काम गर्दै गरेकादेखि विद्यालयमा पढ्दै गरेका हजारौँको ज्यान लियो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस बाढीमा परी हालसम्म १ हजार ४९५ जनाको मृत्यु भएको छ। ५ हजार २८५ जना बेपत्ता छन्। बेपत्ता भेटिने सम्भावना निकै न्यून भएपछि सरकारले बेपत्ता भएको १२ वर्षपछि मृत घोषणा गरिने कानुनलाई घटाएर ४५ दिनमा झारेको छ।
यस बाढीले बगाउन बाँकी केही राखेन। रसुवा, नुवाकोट, धादिङ, चितवनसम्मका बस्ती बगायो। मानिसको गन्तव्य पूरा गर्ने बाटो, पुलदेखि विद्यालय, जलविद्युत आयोजना सबै बगाइलग्यो।
बाढीले १३ वटा जलविद्युत आयोजना, ६९ किमि सडक, ६८ वटा झोलुङ्गे पुल, ३७ वटा मोटरेबल पुल र ४४३ किमि पाइल लाइन बगायो। ७ हजार ५७० वटा व्यक्तिका घर बगायो। १८ वटा विद्यालय, ४८ वटा सार्वजनिक भवन बगायो।
यो सबै क्षति नदी सभ्यतामा आधारित भएर बसेका बस्तीमा भएको हो जहाँ सदियौँदेखि मानव बस्तीको बसिरहेको छ। यसै पनि मानव बस्तीको सुरुवात नै नदी सभ्यतामा आधारित हो।
बाढीबाट यी बस्तीले भौतिक क्षति मात्र २ खर्ब ७४ अर्ब ४४ करोडको भोगेको छ। अब बस्ती पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड लाग्ने अनुमान प्राधिकरणको छ। यो अनुमान पनि बस्ती पुनर्निर्माण गर्ने नेपालको क्षमताभन्दा दूरको हो। हालसम्मकै ठूलो बजेट आव २०८३/८४ मा अर्थमन्त्री स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड बराबर ल्याएका थिए।
यसमा पूँजीगत अर्थात विकास बजेट मात्र ४ खर्ब ३१ अर्ब १० करोड हो। एउटा बाढीले पुर्याएको क्षति परिपूर्ति गर्न अनुमान ७ खर्ब बढी देखिनु नेपालको क्षमताले भेटाउन नसक्ने हो। जसका कारण सरकारले संघसंस्थालाई बस्ती निर्माणका लागि गुहारेको छ।
भोटेकोशी-त्रिशूली बाढीले नदी सभ्यतामा रहेका रसुवा, नुवाकोट, धादिङ, चितवनको बस्तीलाई छियाछिया बनाएको घाउ ओभानो नहुँदै ४७ दिनमै अर्को नदी सभ्यतामा रहेको बस्तीलाई बुढीगण्डकीले छियाछिया बनाएको छ।
आइतबार (असोज २५ गते) भोटेकोशी-त्रिशूली जस्तै अझ बिहान आएको बाढीले गोरखादेखि धादिङसम्मको बस्ती बगायो। बुढीगण्डकी बाढीले हालसम्म मानवीय क्षति गरेको विवरण छैन। तर, ५ जनालाई बेपत्ता बनाएको छ। यसले पनि भोटेकोशी-त्रिशूली जस्तै रौद्र रुप धारण गर्दा सडक, पुल, जलविद्युत आयोजना, बस्ती बगाएको छ।
प्राधिकरणको प्रारम्भिक विवरणअनुसार हालसम्म बाढीले २ वटा पक्की पुल, २ वटा झोलुङ्गे पुल, १ वटा बेली पुल, ३ वटा जलविद्युत आयोजना, ४ वटा हवनकुण्ड, ४ वटा भेडीगोठमा क्षति पुर्याएको छ।
यस बाढीले विशेष गरेर गोरखाको तीन पालिका र धादिङको एक पालिकामा क्षति गरेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ मा ४३ घरमा क्षति पुग्दा १५९ जना विस्थापित भएका छन्।
यस्तै, गोरखाकै धार्चे गाउँपालिका १, ३ र ५ नम्बर वडामा ३९ घरमा क्षति गर्दा १२६ जना विस्थापित भएका छन्। आरुघाट गाउँपालिका ३ र ५ मा ६४ घरमा क्षति गर्दा १३० जना विस्थापित भएका छन् भने धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ मा ५८ घरमा क्षति गर्दा २३९ जना विस्थापित भएका छन्।
बाढीबाट धादिङको त्रिपुरासुन्दरी, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी गाउँपालिकाका ११ वटा खानेपानी आयोजनामा क्षति गरेको छ।
क्षतिको विस्तृत विवरण सरकारले तयार पारेको छैन।
भोटेकोशी–त्रिशूली र बुढीगण्डकीको स्वरुप उस्तै
नदी सभ्यताको बस्तीलाई छियाछिया बनाएका दुई बाढी (भोटेकोशी-त्रिशूली र बुढीगण्डकी)को स्वरुप उस्तै छ। यी वर्षा भएपछि आएका बाढी होइनन्। दुवै बाढी वर्षा नभएको समयमा आएका हुन्।
भोटेकोशी-त्रिशूली बाढी हिमपहिरो झरेपछि आएको हो भने बुढीगण्डकी बाढी हिमपहिरो र पहिरो झरेपछि आएको हो। किन हिमपहिरो झर्यो र किन पहिरो झर्यो भन्ने अध्ययनको विषय बनेको छ।
जलवायु अध्ययन क्षेत्रका विज्ञहरू हिमपहिरोलाई जलवायु परिवर्तनको असरसँग जोडेर हेर्छन्।
भोटेकोशी-त्रिशूली बाढी रसुवाको लाङटाङ-लिरुङ हिमालको उत्तरी भेगमा करिब ५ हजार २०० मिटरमा उचाइमा रहेको हिमनदी टुक्रिएर ल्हेन्दे नदीमा बजारिएको थियो। टुक्रिएको हिमनदीदेखि ल्हेन्दे नदी करिब २ हजार मिटर तल ३ हजार ८०० मिटर उचाइमा पर्छ।
ल्हेन्दे नदीमा परेको हिमनदीको टुक्रा २ वर्ग किलिमिटरको रहेको प्राधिकरणको अध्ययनबाट पुष्टि भएको छ। यस हिमनदी हिमालबाट टुक्रिँदा रसुवालगायत आसपासमा बिहान ८:३७ बजे ५.२ म्याग्नेच्यडको भूकम्पसमेत गएको थियो।
हिमनदी टुक्रिएर ल्हेन्दे नदीमा खस्यो र त्यो नै बाढी बनेर रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाको नदी सभ्याको बस्ती छियाछिया बनायो। ८:४५ बजे बाढी नेपाल-चीन सीमा क्षेत्र रसुवागढी आइपुगेको थियो। यहाँ नदी आउँदा पूर्वसूचनासमेत प्राप्त भइसको थिएन। भन्सार कार्यालयमा रहेका चीनियातर्फ पनि माग्न कोही पाएनन्।
बाढीले रसुवागढी भन्सारसँगै, स्यापुबेसी, मैलुङ, बेत्रावती (रसुवा-नुवाकोट), त्रिशूलीलगायत बस्ती बगायो।
बुढीगण्डकीले पनि बिहानको समयमा नै आएको हो। भेटेकोशी-त्रिशूली बाढीभन्दा अझ बिहान ५:३० बजे सुरु भएको थियो। गोरखाको चुमनुब्री गाउँपालिका ६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएको प्राधिकरणको अध्ययनले देखाएको छ।
उक्त पहिरोले बुढीगण्डकी (स्यास खोला) थुनिएपछि बाढी आएको हो। यद्यपि, पहिरो एकपटक आयो कि पटक-पटक आयो भन्ने खुलेको छैन। तर, बाढी पूर्वानुमान महाशाखाले दुई पटक बाढी आएको बताएको छ।
महाशाखाका हाइड्रोलोजिष्ट सौहार्द जोशीले पहिलो र दोस्रो गरी दुई पटक बाढी आएको बताए। उनका अनुसार बिहान ६ बजे आरुघाटमा देखिएको बाढी त्यति ठूलो थिएन। तर, बिहान ८:५० मा आरुघाटमा अर्को ठूलो बाढी देखापरेको थियो। त्यसले आरुघाटको पुल बगाएको थियो।
साथै आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार, धार्चे गाउँपालिका–५ स्थित माछिखोला, धादिङको त्रिपुरासुन्दरी नगरपालिकास्थित विशालनगरलगायत नदी सभ्यतामा रहेका अन्य बस्तीहरू पनि बगायो।
बाढी पूर्वानुमान महाशाखाले गरेको अध्ययनमा अझै गम्भीर विषय खुलेको छ। असोज २० र असोज २५ को दुई वटा स्याटलाइट तस्बिर विश्लेषण गरेको महाशाखाले हिमपहिरोपछि बाढी आएको जनाएको छ।
महाशाखाका अनुसार चुमनुब्री ६ तुम्जेनजिक बुढीगण्डकी नदीको सहायक नदी क्षेत्रबाट बाढी सुरु भएको देखिएको छ। तुम्जेनजिक असोज २० गते हिमपात भएको देखिएको छ। तर, असोज २५ गते हिमपहिरो र लेदोसहितको पहिरो खसेको देखिएको महाशाखाले जनाएको छ।
यसले के देखाउँछ भने भोटेकोशी-त्रिशूली बाढी र बुढीगण्डकी बाढीको रुप उस्तै हो।
डेढ महिनामा तीन विपद
नेपालले डेढ महिनामा तीन वटा विपद व्यहोरेको छ। भदौ १० गते भोटेकोशी-त्रिशूली बाढी, असोज २५ गते बुढीगण्डकी बाढी आयो भने यसअघि असोज ८ देखि ११ गतेसम्म कालीगण्डकीलगायत नदीमा बाढी आएको थियो।
असोज ८ देखि ११ गतेसम्म देशमा भारीदेखि अति भारी वर्षा हुँदा मध्यपश्चिम क्षेत्र बढी प्रभावित भयो। विशेष गरेर लुम्बिनी र गण्डकी प्रदेश यस वर्षाको चपेटामा परे। त्यसमा पनि कालीगण्डकी नदी सभ्यतामा रहेका बस्तीहरू बढी प्रभावित बन्यो।
चार दिनको बाढीमा देशभर ३० जनाको मृत्यु भयो। १५ जना घाइते भए भने ३ जना बेपत्ता रहेका छन्। वर्षापछि आएको बाढी पहिरोमा परी १ हजार ९२३ परिवार विस्थापित भए। २३४ घरमा पूर्णरुपमा र १५० घरमा आंशिक रुपमा क्षति पुग्यो। यस्तै, १० वटा पुल बाढीले बगायो।
यो क्षति विशेष गरेर गण्डकी र लुम्बिनी प्रदेशमा भएको हो। गोरखा, पाल्पा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत, नवलपारासी पूर्व र पश्चिममा क्षति भयो। यीमध्ये म्याग्दी, पर्वत, बाग्लुङ, पाल्पा जिल्ला कालीगण्डकीसँग जोडिएका जिल्ला हुन्।
यसपटक कालीगण्डकीले आफ्नो छेउ पर्ने बस्तीहरूलाई छियाछिया बनाएपछि सरकारले म्याग्दीसँगै अन्य जिल्लाका केही पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
गोरखाको शहिद लखन गाउँपालिकाका ३ र ४, मनाङका चामे गाउँपालिका, नासों गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नं १ र ४ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
त्यसैगरी बागलुङका निसीखोला गाउँपालिकाका ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका २ र ४ तथा ताराखोला गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाका २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका ६, महाशिला गाउँपालिकाका ५ र ६ तथा मोदी गाउँपालिकाका २ र ३ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सुस्ता गाउँपालिका ५ पनि विपद संकटग्रस्त क्षेत्र घोषणा भएको छ।
नदी सभ्यताका बस्तीको अस्तित्वमाथि प्रश्न
मानव सभ्यताको उद्गमस्थल नै नदी किनारलाई मानिन्छ। नेपालको बस्ती विस्तारसमेत कालीगण्डकी नदी सभ्यताबाट भएको इतिहास छ।
तर, एकपछि अर्को गर्दै आइरहेको अकल्पनीय बाढीले नदी सभ्यताको अस्तित्वमाथि प्रश्न उठाएको छ। भोटेकोशी-त्रिशूली बाढी कहिल्यै नआएको बाढीमध्ये एक हो। यस बाढीले ८० मिटरभन्दा माथि आएरसमेत क्षति गरेको छ।
डेढ महिनामा देशले जे क्षति व्यहोर्यो, त्यो अबको दिनमा व्यहोर्नुपर्ने छैन भन्ने अवस्था छैन। जानकारहरू जलवायु परिवर्नलाई लिएर अझ ठूला विपदको सामान गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिन्छन्।
जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा हिमशृङ्खलाहरूले भोगिरहेका छन्। नेपालमा पूर्वदेखि पश्चिमसम्मको भू-भाग हिमशृङ्खलाले ओगटेको छ।
यहाँ सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) देखि ८ हजार माथिका मात्र १४ वटा हिमाल छन्। अर्को अर्थमा माथिल्लो भू–भाग पूरै हिमशृङ्खलाले छेकिएको छ। जलवायु परिवर्तनको असर बढ्दै जाने हो भने यही हिमशृङ्खलामा असर पर्दै जाने र नेपालको नदी सभ्यतामा रहेका बस्तीहरू काल हुने चिन्ता बढ्दै गएको छ।
जलवायुविद् डा. अरुणभक्त श्रेष्ठले खोला किनारका बस्ती स्वभाविक रुपमा जोखिममा पर्दै गएको बताए। भदौ १६ गते प्रकाशित भएको देशसञ्चार चौतारीमा कुरा गर्दै उनले हजारौँ वर्ष पहिलेका नदी किनारका बस्तीहरू अब जोखिममा पर्दै जान थालेको बताए।
त्यसको मुख्य कारण विश्वमा भइरहेको तापक्रममा वृद्धि हो। उनले विश्वको तापक्रम १.५ डिग्री सेल्सियस पुग्न धेरै वर्ष नलाग्ने र यसले हाम्रोजस्तो हिमशृङ्खलामा रहेका देशहरू प्रभावित हुने बताए।
हाल विश्वको तामक्रम वृद्धि १.४२ पुगेको छ। यो छिट्टै १.५ डिग्री सेल्सिय पुग्ने विभिन्न अध्ययनले देखाएको भन्दै वैज्ञानिकहरू चेतावनी दिन थालेका छन्।
सन् २०१५ को पेरिस जलवायु सम्झौतामा विश्वका नेताहरूले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने प्रतिबद्धता जनाएका थिए। यो सीमा पार गरेमा जलवायु प्रणालीमा हुने क्षति र जोखिम तीव्र हुने वैज्ञानिकको चेतावनी छ।
३ सेप्टेम्बर २०२६ संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) ले एक प्रतिवेदन सार्वजनिक गर्दै तत्काल र व्यापक जलवायु कार्य अघि नबढाइए अत्यधिक गर्मी, बाढी, डढेलो, समुद्री सतह वृद्धि र पारिस्थितिक प्रणालीको विनाशले मानव समाजमाथि दीर्घकालीन असर पार्ने चेतावनी दिइएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र कडा रूपमा देखापरिरहेको उल्लेख गरेका थिए।
उनले भोटेकोशी-त्रिशूली बाढीले विश्वको छानो खसिरहेको पुष्टि गरेकोसमेत बताएका थिए।