समाचार

शक्तिशाली गर्मी ‘सुपर एल निनो’ले चार लाखभन्दा बढीको लिन सक्छ ज्यान !

यी देशमा पर्नेछ प्रभाव

हिमचुली
हिमचुली
Shares
शक्तिशाली गर्मी ‘सुपर एल निनो’ले चार लाखभन्दा बढीको लिन सक्छ ज्यान !

काठमाडौँ- ‘सुपर एल निनो’ नाम दिइएको शक्तिशाली गर्मीले यस वर्ष विश्वभर चार लाख ५१ हजार मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ। 

विश्वव्यापी अनुसन्धान सञ्जाल क्लाइमेट इम्प्याक्ट ल्याबले बुधबार सार्वजनिक गरेको ‘४५१,००० एट रिस्क : ह्वेयर एक्सन क्यान सेभ लाइभ्स ड्युरिङ द सुपर एल निनो’ शीर्षकको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो।

यस वर्ष जुनदेखि सन् २०२७ को फेब्रुअरी अन्त्यसम्म सामान्य वर्षको तुलनामा अत्यधिक गर्मी हुने र त्यसका कारण चार लाख ५१ हजारसम्म थप मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण छ। 

एल निनोका कारण सामान्य वर्षको तुलनामा अत्यधिक गर्मी हुने दिनको संख्या ४४ प्रतिशतसम्म बढ्न सक्छ। 

के हो सुपर एल निनो?

मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम औसतभन्दा कम्तीमा ०.५ डिग्री सेल्सियस बढ्ने अवस्थालाई एल निनो भनिन्छ। यो प्राकृतिक जलवायु चक्रको एक हिस्सा हो। त्यहाँ तातो चरण एल निनो हुन्छ। चिसो चरणलाई ला निना भनिन्छ।

महासागरको सतहको तापक्रम केही महिनासम्म २ डिग्री सेल्सियस वा त्यसभन्दा बढी पुगेमा वैज्ञानिकले त्यसलाई सुपर एल निनो भन्ने गर्छन्। वर्तमान एल निनोको अवस्थामा त्यहाँको तापक्रम अघिल्लो महिना २.७ डिग्री सेल्सियस पुगेको थियो। नोभेम्बर–डिसेम्बरमा ४ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान छ।

यस वर्ष इन्डोनेसियाबाट चलेको शक्तिशाली हावाले ठूलो मात्रामा तातो पानी पूर्वी प्रशान्ततर्फ धकेलेपछि एल निनो तीव्र बनेको हो।

एल निनोले मध्य तथा उत्तरी दक्षिण अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र भारतीय ग्रीष्मकालीन मनसुनबाट प्रभावित क्षेत्रमा वर्षा घट्न सक्ने तथा दक्षिण अफ्रिकासहित केही क्षेत्रमा खडेरीको जोखिम बढ्न सक्छ।

अत्यधिक गर्मीका कारण अतिरिक्त मृत्युको संख्या नाइजेरियामा ३१ हजार ४००, इन्डोनेसियामा १९ हजार ३०० र सुडानमा १७ हजार ६०० पुग्न सक्छ। नाइजर, चाड, नाइजेरिया र सुडानसहित साहेल क्षेत्रमा मात्र थप ६६ हजार ८०० मृत्यु हुन सक्ने अनुमान छ। फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी थप १९ हजार ४०० जनाको मृत्युको प्रक्षेपण गरिएको क्लाइमेट इम्प्याक्ट ल्याबले जनाएको छ।

एल निनो आउँदो वर्षसम्मै लम्बिएमा अतिरिक्त मृत्युको संख्या अझ बढ्न सक्ने र उत्तरी गोलार्धका भारत तथा पाकिस्तानजस्ता देशहरू ग्रीष्मकालीन महिनामा थप जोखिममा पर्न सक्ने प्रतिवेदनमा जनाएको छ ।


भिडिओ

हिमचुली

हिमचुली सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Himchuli Media Pvt. Ltd. Kathmandu, Nepal
9742454878
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ००
प्रेस काउन्सिल दर्ता नं.: ००

हाम्रो टिम

प्रधान सम्पादक प्रधान
सम्पादक सम्पादक

उपयोगी लिंकहरु

© 2026 Himchuli. सर्वाधिकार सुरक्षित।
Developed by Yubraj Pandeya